|
आगलागी पीडितको लागि महानिरीक्षक वस्नेतबाट दुई लाख ४० हजार प्रदान उदयपुर
सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले उदयपुर जिल्लामा हालै भएको आगलागीबाट पीडित नागरिकको सहयोगार्थ हिजो दुई लाख ४० हजार एकसय एघार रुपैयाँ प्रदान गर्नुभयो ।
पूर्वक्षेत्रस्थित सशस्त्र प्रहरी बलका इकाईहरुको निरीक्षण भ्रमणको क्रममा गृहजिल्ला उदयपुर पुग्नु भएका सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले हिजो सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेस गाईघाटमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
उदयपुर सदरमुकामबाट करीब १४ कोष उत्तरतर्फ पोखरी गाविस १ सल्लेमा हालै भएको आगलागीबाट १६ घर क्षती भएको थियो । सो आगलागी स्थानीयको सहयोगमा एपीएफ टोलीले नियन्त्रणमा ल्याएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक वस्नेतले यसअघि फागुन १० गते इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा आयोजित कार्यक्रममा आगलागी पीडित नागरिकको सहयोगको लागि दुई लाख एघार हजार रुपैयाँ स्थानीय विकास अधिकारी भुपराज राईलाई हस्तान्तरयण गर्नुभएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले विपत्ती पीडित नागरीकको सहयोगमा सशस्त्र प्रहरी बलले आफ्नोतर्फबाट पूर्णरुपमा योगदान पुर् याउने बताउनुभयो ।
विपत्तीकोबेला प्रभावकारी उद्धार गर्न सक्ने दक्ष जनशक्ति उत्पादनको लागि संगठनले प्रशिक्षण नै संचालन गर्न लागेको जानकारी गराउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वस्नेतले पीडितको सहयोगको लागि सवैले प्रयास गर्नुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बलले लोकपृय कार्य गरेको तथा विगतको तुलनामा शान्ति सुरक्षाकोस्थिति सुदृढ हुँदै गएको चर्चा गर्नुहुँदै उहाँले सशस्त्र प्रहरी बलले आफ्नो जिम्मेवारी निर्वाहमा विशिष्ट योगदान पुर् याउने दृढता व्यक्त गर्नुभयो ।
उहाँले त्यसठाँउमा शान्ति सुरक्षाको लागि सशस्त्र प्रहरी बलले गुल्म स्थापना गर्ने बताउनु हुँदै सो गुल्मलाई स्थानीयबाट पूर्णरुपमा सहयोग हुने र सो गुल्मले शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर् याउने विश्वास व्यक्त गर्नुभयो ।
|