|
विश्वब्यापी गजल प्रतियोगिताको अन्तिम नतिजाको तयारी हुदै
गत २० फेब्रुवरी १० का दिन विश्वब्यापी रेडियो गजल प्रतियोगिताको अन्तिम चरणमा आयोजकहरुको पुन कोअर्डिनेटिङ मिटिङ सम्पन्न भएको छ ।
मूल्याङ्कनकर्ता तथा पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको नामावली गोप्य राख्ने अघिल्लो निर्यणलाई बदर गर्दै नतिजा अगावै निर्यणकर्ताहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
वरिष्ठ गजलकार प्राज्ञ ललिजन रावल, बरिष्ठ साहित्यकार विजय सुब्बा, डा. कृष्णहरी बराल र शीतल गुरुङ कादम्बिनी मूल्याङ्कनकर्ता रहनु भएको छ भने विभिन्न देशहरु अन्तर्गत वेलायतबाट श्रीमति शशि थापा अमेरिकाबाट विनोद रोक्का ब्रुनाईबाट ध्रुब गौतम मलेशियाबाट इन्द्र नारथुङ्गे, दुवईबाट जाकिर हुसेन र हङकङबाट असोक राई पर्यवेक्षक मूल्याङ्कनकर्ता रहनु भएको छ ।
उत्कृष्ट गजलहरुलाई रेडियो नेपाल गोर्खा एफ. एम. काठमाण्डो, वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाई, रेडियो चितवन चितवन, अनलाइन रेडियो हिमाली स्वरहरु न्यूयोर्क अमेरिका र रेडियो मकालु धनकुटाबाट प्रसारण हुने कुरा जनाइएको छ ।
कार्यक्रमको लागि प्रमुख अतिथि प्रज्ञा कुलपति बैरागी काँइला र अतिथि प्रा.डा. गोविन्दराज भट्टराई र प्राज्ञ अमर तुम्याहाँङलाई आमन्त्रणा गरिएको छ ।
नेपाली साहित्यको इतिहासमा पहिलो पटक ब्यापक रुपबाट आयोजना भएको यस विश्वब्यापी रेडियो गजल प्रतियोगितामा विश्वका १९ मुलुकबाट र नेपालको ३८ जिल्लाबाट गरि जम्मा १७७ जनाले गजल आवाज सहित सहभागिता जनाएका छन् ।
यस प्रतियोगितामा सोचे भन्दा बढि गजलकारहरुको सहभागिता रहेकोले उत्कृष्ट २० जनाको नाम सार्वजनिक गरिने भएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेले नगद रुपैया २० हजार १० हजार र ५ हजार प्राप्त गर्नेछन् साथै मूल्याङ्कनकर्ताको समय र परिश्रमको सम्मान स्वरुप पनि प्रतिब्यक्ति ५ हजार नगद प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको प्रायोजक कलासाहित्यडटकम (www.kalasahitya.com), योन्छुमा ट्राभल्स एण्ड टुर्स र चाम्स फिल्म प्रोड्क्शन रहेका छन् । यस कार्यक्रमको अफिसियल मिडिया नयाँ सन्देश साप्ताहिक वेलायत बि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाई, www.nepaliSamachar.com र www.sahityaghar.com रहेका छन् । सम्पूर्ण गजलहरु www.pravasi.com.np मा सुन्न सकिन्छ ।
स्मरण रहोस, प्रवासी नेपाली साहित्य समाज ब्रुनाई/वेलायतको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न हुन गइरहेको कार्यक्रममा बृटिस गोर्खा सेनामा संलग्न लाहुरे स्रष्टाहरुको मुख्य सक्रियता रहेको छ । वैठकले भर्खरै निर्माण भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई बधाईको प्रस्ताव पारित गर्दै विभिन्न माध्यममा शुभकामना दिने पनि निर्यण गरयो । गजल प्रतियोगिताको अन्तिम नतिजा आगामी केहीदिन भित्रै प्रकाशन तथा प्रसारण हुने बताइएको छ ।
|