भिन्न मान्छे भिन्न भावना भिन्न शैली त्यस्तैगरी रंग भिन्न यद्यपि कार्यशाला एउटै परिवेश एउटै । यस्तै-यस्तै वातावरण भित्र सानो बालक तोते वाक्य फुटाउंदै क्यानभासमा आफ्नो वाल मस्तिष्कको छिटाहरु रंगहरुमा छर्किरहेको थियो । थाहा छैन त्यो छिटाहरुमा के-के भावहरु थियो उसको अन्तरह्रदयले त भनिरहेको होला तर वाक्य मार्फत प्रष्ट भन्न सकिरहेको थिएन । धेरै जसो उज्यालो रंगहरुसँग खेलिरहेको थियो । त्यो अवोध बालकलाई रंगहरुको विशेषतासँग के सरोकार अर्थ अनि भाव सँग के को चासो उसलाई जुन मन पर् यो त्यहि रंग सेतो क्यान्भासमा पोतिदियो । त्यसै पनि केटाकेटीहरुलाई उज्यालो अनि चम्किलो रंग मनपर्नु स्वभाविकै हो । अन्ततः सम्पूर्ण रंगहरुको सम्मिश्रणबाट तयार पार् यो अमूर्तकलाको पूर्ण स्वरुप । जसमा दर्शकहरुले आ-आफ्नै भावहरु अभिव्यक्तिहरु पोखे । अमूर्तकला प्रति कसैको समान व्याख्या पाइदैंन । जसलाई भिन्न व्यक्ति अनुसार भिन्न दृष्टिकोणले व्याख्या गर्ने गरिन्छ । अमूर्तकला एउटा भावनामा निहीत हुन्छ । भावना एउटा अन्र्तमनको अभिव्यक्ति हो जुन हरेक मानिसमा अलग-अलग रुपमा प्रस्फुटन हुन्छ र जसलाई समय परिस्थिती अनि वातावरणले प्रभाव पारिरहेको हुन्छ ।
केहि समय अघि एक्सप्लोर साइकोलोजी नेपाल र चारुमती रोट्रयाक क्लवको संयुक्त आयोजनामा एक दिने कार्यशाला अनि एक हप्ते चित्रकला प्रर्दशनी सम्पन्न भएको थियो । जो अहिलेका युवा नयां जोश र जांगरका साथ केहि गर्ने उत्साह बोकेर सामाजिक कार्यमा लागि परेका युवा विद्यार्थीहरुको समूह हो । जसले समाजमा भएका व्यक्तिहरुको भित्री मनोभावलाई वाहिर प्रष्फुटन गर्ने प्रयत्न गरिरहेका छन् । यसमा संलग्न भइ लागि पर्ने यी जागृत युवाहरुको जोश अत्यन्तै सह्राहनीय छ र उक्त संस्थाको अध्यक्ष वरिष्ठ कलाकार श्री रमेशनाथ खनालज्यूको नेतृत्व त्यतिकै अनुकरणीय र सम्मानजनक छ ।
सामाजिक मनोवैज्ञानिक परामर्श एउटा मानसिक रोगको उपचारात्मक पद्दति हो भन्दा कुनै अतियुक्ति नहोला । शारिरीक विमार भन्दा मानसिक विमार बढी घातक हुन्छ । जसलाई हतपत पत्ता लगाउन अत्ति गाह्रो हुन्छ । मानसिक रोगले आघात भएको मानिस सजिलै सामान्य रुपमा फर्कन सक्तैन । अहिलेको वर्तमान समय परिस्थिती अनि अव्यवस्थित वातावरणको परिणाम स्वरुप अधिकांश मानिसहरु यस्तै रोगले ग्रसित छन् । मानिसहरु क्रमशः प्रविधिको विकाससँगै जीवन जीउने बहानामा यान्त्रिक भइसकेका छन् प्रविधिसँग होडबाजी गर्दैमा फुस्रद छैन कसैलाई यहां । सबै आ-आफ्नो स्वार्थ पूरा गर्नमा अभ्यष्त भइरहेका छन् । अन्ततः प्रविधि अनि स्वार्थपनले मानिसलाई समाज अनि परिवारबाट नितान्त एक्लो बनाइरहेको छ । परिणामतः एक्लोपनको निराशाले कैंयौ मानिसहरु मानसिक रोगको शिकार भइरहेका छन् । यसको उपचारको लागि पूर्व रोग पत्ता लगाउन यो सामाजिक मनोविज्ञान परामर्शले अहम् भूमिका खेलेको हुन्छ । मान्छेहरुले हत्तपत्त आफ्नो भित्री भावहरु मुखले खोलेर व्यक्त गर्न हिचकिचाउंछन् तर यसलाई ओकल्ने धेरै माध्यमहरु छन् जस मध्ये रंग तथा क्यान्भास पनि एउटा हो तसर्थ यी युवाहरुले अप्रत्यक्ष रुपबाट चित्रकला मार्फत हरेक सहभागीहरुको भित्री भावहरु चतुर् याइका साथ बुझ्ने प्रयत्न गरेका छन् । यस्तै विषयवस्तुमा आधारित थियो उक्त कार्यशाला अनि चित्रकला प्रर्दशनी र पोखिएको थियो सहभागीहरुको अन्तर ह्रदयका भिन्न-भिन्न भावहरु । प्रर्दशनीको शीर्षक नै भावना मा आधारित थियो र क्यानभासमा आफ्ना भावहरु अभिव्यक्त गर्न सहभागीहरुलाई आग्रह गरिएको थियो । यस कार्यक्रममा सहभागी हुनको लागि साथी मार्फत मलाई पनि अनलाइन फाराम उपलब्ध गराइएको थियो तर जीवनमा कहिल्यै रङ्गसँग नखेलेको म फाराम भर्ने आँट नआएर भरेको िथंइन । सहभागिको लागि आग्रह गरेको हुनाले उक्त कार्यक्रमको दिन उपस्थिति जनाउनको लागि मात्र भनेर अर्को काम भ्याउदै अलिक ढिलो पुगेका थियौं । मौसम पुष महिनाको पारिलो घाम नेपाल ललितकला संघको कौसी अनि सबैजना हातमा कुची रंग र क्यानभाससँग एकतमासले खेलिरहेको देख्दा हामीलाई पनि रंगहरुसँग खेलौं-खेलौं लाग्यो र त्यिहं नै फाराम भरेर पुनः अर्को कार्यक्रममा पुग्ने समय राखेर हतार-हतार दुई घण्टाको अवधिमा क्यानभासमा रंगहरु पोतेका थियौं ।
अन्तमा दुई घण्टाको कामले उच्च मूल्याङ्कन पाएको िथंए जसले गर्दा खुशी लाग्नु त स्वभाविक नै थियो किन कि वरिष्ठ कलाकारहरुको आँखामा मेरो चित्रकला पर्न गएको थियो । त्यसो त अन्य सहभागीहरुको चित्र पनि त्यतिकै आर्कषक र उत्कृष्ट थिए । सबै सहभागीहरुले रंग मार्फत कसैले अमूर्तकलाको माध्यमबाट त कसैले सिधै मानवीय भावहरु झल्कने सांकेतिक भावहरु क्यानभासमा पोखेका थिए । धेरै जसो चित्रकलाहरु खुशी उदास क्रोध आक्रोश डाह दुःख-पिडा मायाँ मित्रता झल्कने खालका थिए भने मैले प्रकृतिमा आधारित भएर शान्तिका भावहरु आफ्नो क्यानभासमा पोखेको िथंए । प्रायः सबै सहभागीहरुको रंग र क्यान्भाससँगको पहिलो अनुभव भएता पनि हरेक मानिसमा खुवी हुन्छ त्यसलाई प्रस्फुटन गर्ने अवसरको मात्र अभाव भएको महशुष भइरहेको थियो । उक्त प्रर्दशनीबाट शुभचिन्तक अनि मान्यजनहरुबाट त्यतिकै हौसला र प्रोत्साहन पनि बटुल्न सफल भएंका थियौं । दैनिक राष्ट्रिय पत्र-पत्रिकाहरुमा हाम्रा चित्रकलाहरु र अन्र्तवार्ताले स्थान पाए । तर थोरै ज्ञान भयङ्कर खतरा हुन्छ भन्ने उक्ति अनुरुप त्यो नसिकी नबुझी रहरको भरमा गरेको कामबाट एक छिनको प्रशंसाको मात लागेर यसबारे गहन अध्ययन नगरी नसिकी अघि बढेमा पक्कै पनि खतरामा पर्न सक्ने सम्भावना पनि आफैंले आफैंमा देखें । जे होस् जीवनको थुप्रै भोगाइ र अनुभव संगै मैले वरिष्ठ व्यक्तित्वहरुको छत्रछायाँमा रहेर सहकार्य गर्ने सौभाग्य पाएको छु । त्यस्तै कृष्ण मानन्धर किरण मानन्धर विजय थापा रमेशनाथ खनाल जस्ता वरिष्ठ कलाकारहरुसँग एउटै कौसीमा बसेर रंगहरुसँग खेल्नु पाउनु अनि उहांहरुको चित्रकलासँगै सामुहिक चित्रकला प्रर्दशन गर्न पाउनु पनि हाम्रो लागि अत्यन्तै सुखद अनुभव थियो ।
हरेक व्यक्तिमा आ-आफ्नो खुबी अनि क्षमता हुन्छ तर त्यसलाई बाहिर प्रस्फुटन गर्नको लागि कुनै न कुनै अवसर चाहिन्छ अनि पछाडिबाट हौसला दिने धकेल्ने साथीको जरुरी पनि । यो सुनौलो अवसर पनि मैले मेरो साथी अनि साथीको समूहबाट पाएको थिएं । मलाई हरेक कुरामा अघि बढ्नमा त्यहीं साथीको निकै ठूलो हात छ । गाली गर्दै पनि उसले मलाई हरेक कुरामा प्रोत्साहन दिइरहन्छ । कुनै बेला हौसला अनि मायांको पिटाइ पनि खाएको छु । यसरी साथीहरुको हौसला र प्रोत्साहनले घचेट्दै यसपालि पनि नेपाल ललितकला संघको प्राङ्गण अनि प्रदर्शनीको भित्तासम्म ठोकिन पुग्दाको क्षण अनि चित्र मार्फत आफ्नो भावनाहरु पोखेको क्षण मेरो लागि सदा अविस्मरणीय रहिरहनेछ ।